तनहुँ, ७ भदौ । तनहुँमा शुक्रबार भारतीय पर्यटक सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा आइपुग्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो ।
घाइतेहरुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरी गम्भीर घाइतेलाई काठमाडौं र भरतपुर पठाउने तयारी गरिएको छ । बसमा चालकसहित ४३ जना सवार रहेको र ती सबै भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । मृतक १४ जनासहित घाइतेहरु गरी ३९ जनाको उद्धार गरिएको र हराइरहेका अन्य ४ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीमार्फत खोजी भइरहेको तनहुँ प्रहरीले जानकारी गराएको छ ।
केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस भदौ ४ गते रुपन्देहीको बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको खुलेको छ । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । घुम्ती कटेर सीधा बाटोमा आएर बस नदीमा खसेकाले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

